कावासोती — शहरी विकास मन्त्रालयले वन मन्त्रालयलाई रुख हटाउने प्रक्रियागत पत्र पठाएको छ, जससँगै नवलपुर जिल्लाको कावासोतीमा निर्माण हुने नमूना सदरमुकामका लागि रुख काट्नने बाटो खुल्न थालेको छ । यस प्रक्रिया अनुसार, शहरी विकास मन्त्रालयले कार्तिक ७ गते सचिब स्तरीय निर्णय गरेर रुख कटानका लागि वन मन्त्रालयलाई अनुरोध पत्र पठाएको हो।
वन मन्त्रालयले गत असोज १६ गतेको पत्रमा उल्लेख गर्यो कि ज्योति कुञ्ज सामुदायिक वन क्षेत्रको जग्गा राष्ट्रिय आवास कम्पनी लिमिटेडको स्वामित्वमा रहेको छ। यस कारणले, सरकारी रुख हटाउन शहरी विकास मन्त्रालयबाट अनुरोध पत्र आवश्यक परेको थियो । यस अनुरोध पत्रको आधारमा वन मन्त्रालयले शहरी विकास मन्त्रालयको निर्णयलाई मान्यता दिंदै रुख कटानका लागि प्रक्रिया अगाडि बढाएको छ।
सांसद विष्णु कुमार कार्कीले जानकारी गराउँदै भने, “शहरी विकास मन्त्रालयले पठाएको पत्र भोलीनै वन मन्त्रालयमा पुग्नेछ। केही दिनमा रुख कटानको सहमति आउने अपेक्षा गरिएको छ।”उनले थपे, सहमति आएसँगै डिभिजन वनले रुख कटान गर्नेछ, र यसले नमूना सदरमुकामको निर्माणमा गति ल्याउनेछ। अब ढिलाई हुँदैन। “अब रुख कटान आदेश सहमति तत्काल आउँछ, जसले निर्माणको काम अघि बढ्नेछ ।
कावासोती नगरपालिका–३ मा रहेको १ सय ८४ बिघा जग्गामा नमूना सदरमुकाम निर्माणका लागि काम थालिएको छ । यस कार्यको पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, कोष तथा लेखा नियन्त्रण कार्यालयलगायतका पाँचवटा कार्यालय सर्ने गरी तीनवटा भवन निर्माण गरिनेछ।
भवन निर्माणको जिम्मा पाएको रौतहटको चौधरी कन्स्ट्रक्सनको टोली निर्माणस्थलमा आइपुगेको भएता पनि रुख कटानको आदेश नआउँदा निर्माण कार्य सुरु गर्न सकेको थिएन्न । नमुना सदरमुकाम निर्माण गर्ने भनिएको कावासोतीमा १ सय ८४ बिघा क्षेत्रफल जग्गा सरकारको नाममा आइसकेको छ । जहाँ ६ सय ५२ वटा रुख र ९० वटा पोल सार्नुपर्ने हुन्छ ।