कोल्हुवा । नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नं २ कोल्हुवा स्थित कुमारवर्ती माध्यमिक विद्यालयमा आज अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा आत्म सुरक्षाको तालिम प्रदान गरिएको छ।
नोभेम्बर २० मा सम्पन्न यस कार्यक्रममा, जागृती बाल तथा युवा सरोकार नेपाल र क्यान्नलसको साझेदारीमा संचालित किशोरी सशक्तिकरण कार्यक्रम अन्तर्गत किशोरीहरुलाई आत्म सुरक्षासम्बन्धी विभिन्न तालिमहरु दिइएको थियो। मध्यबिन्दु नगरपालिका र जागृती बाल तथा युवा सरोकार नेपालको समन्वयमा आयोजना गरिएको यस कार्यक्रममा १५ वडाबाट २-२ जना किशोरीहरुलाई साथी शिक्षकको रूपमा छनौट गरी तालिम प्रदान गरिएको छ।
यसै क्रममा, श्री कुमारवर्ती माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत १६ जना किशोरीहरुलाई आत्म सुरक्षा सम्बन्धी तालिम दिइएको हो। कार्यक्रममा, किशोरीहरुलाई हिंसा, शोषण, अधिकार र यदि कसैले हिंसा गरिहाल्ने सम्भावना उत्पन्न भएमा कसरी सुरक्षित रहने र प्रतिकार गर्ने बारेमा शारीरिक अभ्याससहित जानकारी दिइएको थियो। किशोरी अभियन्ता अनिसा पौडेलले यस प्रकारका तालिमहरुले किशोरीहरुमा आत्मविश्वास वृद्धि गर्न र उनीहरुलाई विभिन्न हिंसाका बिरुद्ध सचेत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। कार्यक्रममा विद्यालयका बाल क्लबका सम्पर्क शिक्षक जनक के. सि. र अन्य शिक्षकहरुको उपस्थिति रहेको थियो।