२०८१ फागुन २८, बुधबार
नयाँ
पछिला अपडेट

आठौँ नवलपुर महोत्सव सुरु 

२०८१ माघ २५, शुक्रबार प्रकाशित ( महिना अघि) २३२ पाठक संख्या

कावासोती । आठौँ नवलपुर महोत्सव आज शुक्रवार देखी डण्डामा सुरु भएको छ । नेपाल सरकारका उद्योग मन्त्री दामोदर भण्डारीले महोत्सव उद्घाटन गरेका छन् ।

फागुन १० गतेसम्म चल्ने महोत्सव उद्घाटन समारोहका प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भण्डारीले नवलपुर महोत्सवले यहाँको समग्र उत्पादनलाई बजारीकरण गर्न, प्रचार–प्रसार र प्रवर्द्धनमार्फत अर्थतन्त्रमा प्रभाव पार्न सक्नुपर्ने बताए ।

गण्डकी प्रदेशकै सम्भावनाको अवसर पर्खिरहेको नवलपुर जिल्लाले राजस्व सहितको अर्थतन्त्रमा पुर्‍याएको योगदानको प्रशंसा गरेका मन्त्री भण्डारीले महोत्सवमा राखिने साना लघु घरेलु उद्योग र उद्यमशीलता गर्न नसक्ने हो भने देशको अर्थतन्त्र उठ्न नसक्ने जिकिर गरे ।

उद्योगी व्यवसायीको हितमा सरकारले अध्यादेश ल्याउन लागेको बताएका मन्त्री भण्डारीले अर्थतन्त्रमा परेको प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै सरकारले केन्द्रमा राखेर गतिविधिहरू अगाडि बढाएको स्पष्ट पारे ।

महोत्सव उद्घाटन पूर्व विभिन्न जातजातिका मौलिकता झल्कने सांस्कृतिक झाँकी, सङ्घसंस्था, समूह, उद्योगी–व्यापारीहरूको सहभागितामा बृहत् शोभा यात्रा निकालिएको थियो ।

महोत्सव आयोजक नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा महासचिव सागर पोख्रेलले महोत्सवको अवधारणा, उद्देश्य, अपेक्षाका बारेमा जानकारी दिएका थिए भने अध्यक्ष अर्यालले नवलपुरको पर्यटन उद्योग व्यापार व्यवसायको अपेक्षित उपलब्धि प्राप्तिमा बाधक मानिएका समस्याहरू चुनौतीका रूपमा देखा परेको वक्तव्यमार्फत ध्यानाकर्षण गराएका थिए ।

आठौँ नवलपुर महोत्सवमा प्रवर्द्धनतर्फ कृषि उत्पादन प्रदर्शनी तथा विक्री, हस्तकला तथा घरेलु औजार विक्री एवम् प्रदर्शनी, विभिन्न जातजातिका कला, संस्कृति, भेसभुसा, मौलिक बाजागाजा सहितका प्रस्तुति–प्रदर्शनी, रत्यौली, लोकदोहोरी, डान्स आइडल प्रतियोगिता र राष्ट्रिय कलाकारका साथमा स्थानीय कलाकारका साङ्गीतिक–सांस्कृतिक प्रस्तुति समेटिएका छन् भने कृषकका उत्पादन र विद्यार्थीबिचको वृत्तचित्र प्रतियोगिता रहने आयोजकले जनाएको छ ।

यस्तै, मनोरञ्जनतर्फ बाल उद्यान, अवलोकनका लागि फिस टनेल, आइफिल टावर र पुरा महोत्सव स्थल आकर्षक बनाइएको छ ।

यस पटकको महोत्सवमा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क आधारभूत औषधि सहितको स्वास्थ्य परीक्षण शिविर, निःशुल्क आँखा परीक्षण शिविर, ज्येष्ठ तथा अपाङ्गता नागरिकका लागि प्रवेश निःशुल्क रहेको छ ।

महोत्सवमा धार्मिक, आध्यात्मिक सांस्कृतिक–सामरिक पक्षका ज्ञान, ऊर्जा–ध्यान, पर्यटकीय गन्तव्य, उद्यमी, कृषि, बहु देशीय सहकारी र वित्तीय संस्थाका जागरण–सूचना केन्द्र छन् । यहाँ दैनिक उपभोग्य बस्तु र आवश्यकताका औद्योगिक उत्पादनका व्यापारिक स्टलहरू रहेका छन् ।

सबै वर्ग, उमेर समूह, फरक फरक सोच र रुचिका मानिसहरूलाई महोत्सवबाट सन्तुष्ट पार्ने परिकल्पनाका साथ आयोजित आठौँ नवलपुर महोत्सव विशेष हुने आयोजकको दाबी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस