मध्यविन्दु । नवलपुर अन्तर्गत नारायणी नदीमा पौडी खेल्ने क्रममा दुई किशोर बेपत्ता भएका छन्।
मध्यविन्दु नगरपालिका–१२ का १४ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेल मङ्गलबार दिउँसो नारायणी नदीमा डुबेर बेपत्ता भएका हुन्। दाजुभाइका छोराहरू पर्ने प्रज्वल र विजय पाँच जना साथीसँगै मध्यविन्दु–१५ स्थित उल्टिदोभानमा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा दुई जना नदीमा डुबेको प्रहरी चौकी अरुणखोलाका प्रहरी सहायक निरीक्षक धर्मराज शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिउँसो नै घटना भए पनि साथीहरू घर फर्किएपछि मात्रै बेलुका खोजीका लागि खबर आएको हो। अबेर मात्र घटनाको जानकारी आएको र रात परेकाले हिजो खोजी कार्यमा कठिनाइ भएको शर्माले बताउनुभयो ।
घटनास्थल नारायणी र अरुणखोलाको संगमस्थल हो, जहाँ पानीको बहाव तेज हुने गरेको छ। प्रहरी टोलीले राति खोजी थालिए पनि उज्यालो नहुँदासम्म कुनै सफलता मिल्न नसकेको जनाएको छ ।