२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

‘इमरान खानले तलबभत्ता त्यागे भन्दैमा मैले पनि त्याग्ने? :- प्रधानमन्त्री

२०७५ मंसिर २३, आईतबार प्रकाशित ( साल अघि) ८०९ पाठक संख्या

मंसिर २३-  प्रधानमन्त्री केपीशर्मा ओलीले देशको वास्तविकतामा आधारित रहेर विकासका गतिविधिलाई अगाडि बढाइने बताएका छन्। शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा इन्जिनियरहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले देशले भ्याउने गरी सेवा सुविधा लिने र तीव्र विकास गरिने स्पष्ट पारे। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको प्रसंग निकाल्दै उनले तलब भत्ता नलिने र निवास नै त्याग्ने कुरा नेपालको सन्दर्भमा अहिले नै लागु गर्न कठिन रहेको सुनाए।

‘पाकिस्तानमा इमरान खानले सरकारी निवास त्यागेर आफ्नै घरमा बसेको चर्चा यहाँ भइरहेको छ। उनको आफ्नै महल छ, प्रधानमन्त्री क्वार्टरमा बसेनन्, यो राम्रो कुरा हो। तर उनको जस्तै नेपालमा पनि लागु गर्न अहिले नै मिल्दैन’, उनले भने।

उनले बालकोटस्थित निजी निवास प्रधानमन्त्री बस्नका लागि उपयुक्त नभएको पनि स्पष्ट पारे। ‘सुरक्षाको कुरा छ, बैठकहरु गर्नलाई साँघुरो छ’, उनले भने। आफ्नो घरको कुरा गर्दा ओलीले प्रधानमन्त्री निवासका लागि बालुवाटारमा नै साँघुरो रहेको बताए।

‘मैले इमरान खानबाट सिक्नुपर्छ भनेर केहीले भने। प्रधानमन्त्री निवास त्यागेर मैले कहाँ जाने, जसको काठमाडौंमा घर छैन उ प्रधानमन्त्री भयो भने के गर्ला?’ ओलीले प्रश्न गरे।

उनले आफू संसारकै कम तलब खाने प्रधानमन्त्री भएको समेत दाबी गरे। ‘इमरान खानले तलबभत्ता त्यागे भन्दैमा मैले पनि त्याग्ने? अस्ती १ लाख डलर पाएको थिएँ। त्यो सरकारी कोषमा हालिदिए। यस्तो पैसा फेरि आयो भने हालौला। तर तलब नै नखाने हो भने म कसरी चल्छु?’ ओलीले प्रश्न गरे, ‘श्रीमतीजीको पेन्सनले अहिले नै प्रधानमन्त्री चलाउन पुग्दैन। संसारकै कम तलब खाने प्रधानमन्त्री हुँ। देशले भ्याउने गरेर थोरै तलब लिइरहेको छुँ।’ नागरिकमा खबर छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस