२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

धार्मिक पर्यटकीय गन्तव्य : मौलाकालिका मन्दिर

२०७५ मंसिर २५, मंगलबार प्रकाशित ( साल अघि) १६८१ पाठक संख्या


नवलपुर – मौलाकालिका मन्दिर पूर्व नवलपरासी जिल्लाअन्तर्गत गैंडाकोट नगरपालिका वडा नं. १ मा पर्दछ । यसै क्षेत्र पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणी पुलबाट उत्तरतर्फ करिब तीन किलोमिटर टाढा समुद्र सतहदेखि ५६१ मिटर उचाइमा पहाडी वनको बीचमा सुप्रसिद्ध तीर्थस्थल एवं शक्तिपीठका रूपमा मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ।

प्रशस्त पार्किङ क्षेत्र रहेको सो ठाउँमा फूलमाला बेच्ने पसल छन्। त्यहाँको ठूलो द्वारबाट भित्र पसेर ४० मिनेट उकालो चढे मौलाकालिका मन्दिर पुगिन्छ। उकालोमा ढुंगे सिँढी छन्। बाटामा गणेश मन्दिर, सालको जंगल र ठाउँ–ठाँउमा चौतारी छन्। प्यास लागे पानी पिउन धारा छन्। ठाडो उकालोका दुवैतर्फ राखिएका रेलिङले उक्लन मद्दत गर्छ।

खाजा खाने प्रशस्त पसल भएकाले यात्रामा घरबाट केही लैजानु पर्दैन। गर्मी हुने भएकाले पातला कपडा लगाएर उकालिनु बेस। चारैतर्फको मनमोहक दृश्यले उकालो चढेको पत्तै पाइँदैन, थकान आफैं कम हुन्छ। त्यहाँबाट पवित्र देवघाट धाम, कलकल बगेकी नारायणी, सुन्दर नारायणगढ बजार र अर्कोतर्फ गैंडाकोटका सुन्दर फाँट देखिन्छन्। आफन्तको सम्झनामा चौतारा र धारा बनाइएका छन्। त्यहाँ अंकित नाम पढ्दै जाँदा उनीहरूप्रति श्रद्धाभाव जाग्छ। त्यहाँ कतै चिनेका मान्छेको नाम पो छ कि, हेर्न मन लाग्छ। ठाउँ–ठाउँमा दूरीको जानकारी गराउने खालका सूचना छन्।

प्रत्येक पाइलाबाट देखिने सुन्दर दृश्य र परिवेशलाई क्यामेरामा कैद गर्दागर्दै उकालोमा डेढ घन्टा बितेको पत्तै हुन्न। चराका मीठा धुनले उस्तै मोहित पार्छ। कहिलेकाहीँ जंगली जनावरका आवाज सुन्दा डर पनि लाग्छ। जंगलले भरिएको पहाडको टाकुरामाथि रहेको मन्दिर पुगेपछि थकाइ एकैपटक भाग्छ। मन्दिरको सौन्दर्यले मोहित पार्छ। मन्दिरको चारैतर्फ ढुंगा बिछ्याइएका छन्। एकातिर सत्तलहरू, भजन गर्ने ठाउँ अनि बीचमा मौला (घर–आँगन, पोखरीको बीचमा गाडिएको काठको खम्बा) र सामुन्ने काली मन्दिर। भित्र जिब्रो निकालेको कालीको डरलाग्दो प्रस्तर मूर्तिका साथै अन्य मूर्ति छन्।

नवलपरासीको आदर्श गाविस गैंडाकोटमा अवस्थित यो मन्दिर पाल्पाका राजा मुकुन्द सेनले बनाएका हुन्। १९९० सालको भुकम्पले पुरानो मन्दिर ध्वस्त भएपछि प्यागोडा शैलीमा फेरि बनाइएको छ। सफा मनले पूजा गरे मनको इच्छा पूरा हुने जनविश्वास छ।

मन्दिरभित्र पसेर पूजा गर्न पाइए पनि देवी मूर्ति छुन भने पाइन्न। भित्रका मूर्तिको फोटो खिच्न नपाइने सूचना टाँसिएको छ। तर, ढोकाको ठीक सामुन्ने देवी मूर्ति भएकाले दर्शनार्थीहरू बाहिरबाटै फोटा खिचिरहेका भेटिन्छन्।

विशेषतः शनिबार र बिदाका दिन तीर्थालुको घुइँचो लाग्छ। हरेक बिहान ‘मर्निङ वाक’ गर्नेहरूको ठूलै भीड हुन्छ। त्यो दृश्य देख्दा आउँदा दिनमा मौलाकालिकामा पनि पशुपतिनाथमा जस्तै मान्छेको भीड लाग्ने आशा गर्न सकिन्छ।

प्रकाशित मिति : २५ मंसिर २०७५, मंगलवार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस