२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

एकपटक घुम्नैपर्ने नेपालका यी उत्कृष्ट १८ स्थान [ फोटोफिचर ]

२०७५ पौष ४, बुधबार प्रकाशित ( साल अघि) १२८९ पाठक संख्या

 

५ पौष ,कावासोती ।  नेपालीहरूमा बढ्दै गएको घुमफिरप्रतिको मोहले आन्तरिक पर्यटनलाई समेत सघाउन थालेको छ । नयाँ वर्षमा घुमफिरडटकमको दृष्टिमा नेपालकै उतकृष्ट गन्तब्यहरु पोखरा, सौराहा, रारा, जोमसोम, चित्लाङ, नगरकोट, धुलिखेल, इलाम, भेडेटार, लुम्बिनी, घोडाघोडी ताल, शुक्लाफाँटा, खप्तड आदि प्रमुख गन्तब्यहरु पर्न सफल भएकाछन् । तपाई नयाँवर्षमा कहाँ जान रुचाउनु हुन्छ ? नेपालको सबैभन्दा ठूलो ताल, वरपर जंगल तथा चरा–चुरुङ्गीको चिरबिरले जो–कसैलाई स्वर्गको आभास दिलाउँछ ।

यो स्वर्गीय टुक्रामा बसेर नयाँ सोचसँगै नयाँ योजना बनाउने मन कसलाई हुदैन र रु यदि तपाईंसँग पनि त्यस्तो कल्पना छ भने नयाँ वर्ष रारा घुमेर मनाउन सक्नुहुन्छ । पाँच वर्षअघिसम्म रारालाई कठिन गन्तव्य मानिन्थ्यो, तर अहिले यातायातको सुविधाले काठमाडौंबाट दुई दिनको यात्रापछि रारा सजिलै पुग्न सकिन्छ । मुगुमा पर्ने यो तालको सेरोफेरोमा अरू धेरै गन्तव्य पनि छन् । यो क्षेत्रमा चंखेली हिमाल, दुधे दहसहित साना–ठूला गरी १ सयभन्दा बढी ताल, कुण्ड आदि छन् ।

रारा ताल
रारा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने उक्त क्षेत्रमा रेडपान्डा, दुर्लभ सेतो कस्तूरी, नाउर, घोरल, गिद्ध, बाज, चीलजस्ता पशुपन्छी अवलोकन गर्न सकिन्छ । यो क्षेत्र यार्सागुम्बा, पाचँऔले, उत्तिस, कटुस, भोल्तेजस्ता जडीबुटीको भण्डार पनि हो । अहिले नयाँ वर्षका लागि आर्ट समिट एन्ड टुर्सले रारा यात्राको एकहप्ते प्याकेज समेत सार्वजनिक गरेको छ । यो प्याकेजअन्तर्गत रारा पुगेर काठमान्डौं फर्कंदासम्म प्रतिव्यक्ति १६ हजार ५ सय रुपैयाँ खर्च हुने बताइएको छ । ६ रात ७ दिनको यो प्याकेजमा यातायात, खानपान तथा बास खर्च समावेश छ ।

जोमसोम–मुक्तिनाथ
प्रकृतिप्रेमीहरूका लागि जोमसोम र त्यसवरिपरिको क्षेत्र विश्वमा नै निकै प्रसिद्ध छ, भने धार्मिक पर्यटकका लागि मुक्तिनाथ चर्चित छ । पाँच–छ वर्ष पहिलेसम्म विदेशी पर्यटकको मात्र रोजाइमा पर्ने जोमसोम–मुक्तिनाथ अहिले नेपालीहरूको रोजाइमा पनि पर्न थालेको छ । यसको प्रमुख कारण पोखराबाट जोमसोम–मुक्तिनाथका लागि सहज सडक यातायात उपलब्ध हुनु र संचार क्षेत्रमा भएको बिकासलाई लिन सकिन्छ हो । एकल यात्राका लागि जोमसोम–मुक्तिनाथ केही महँगो भए पनि विभिन्न ट्राभल कम्पनीहरूले नयाँ वर्षका लागि जारी गरेको प्याकेजलाई निकै सस्तो मानिएको छ । उक्त प्याकेजअन्तर्गत ४ रात र ५ दिनको भ्रमणका लागि १४ हजार ५ सय रुपैयाँजति खर्च गर्नुपर्छ ।

चित्लाङ
नयाँ वर्ष मनाउन नजिकको गन्तव्य रोज्नेहरूका लागि मकवानपुरको चित्लाङ पनि उपयुक्त हुन सक्छ । उपत्यकाको धूवाँधूलो र कोलाहललाई पन्छाउँदै थानकोटबाट मात्र १४ किलोमिटरको बस यात्रापछि चित्लाङ पुग्न सकिन्छ । ऐतिहासिक स्थल, ग्रामीण वातावरण, वनजंगलको मनमोहक दृश्यका साथ यहाँ रहेका साना–ठूला होटलहरूले पाहुनाको भव्य स्वागत गर्छन् । चित्लाङमा टिम बनाएर पनि जान सकिन्छ भने विभिन्न ट्राभल कम्पनीले तयार गरेका प्याकेजमार्फत पनि पुग्न सकिन्छ । विभिन्न ट्राभल कम्पनीहरूले नयाँ वर्षलाई लक्षित गरी १ रात र २ दिनका लागि ३ हजार ५ सय रुपैयाँको प्याकेज तयार गरेका छन्, जसमा काठमाडौंबाट चित्लाङसम्मको यातायात, एक रातको बास तथा खानापिन समावेश छ । यो प्याकेजअन्तर्गत प्रत्येक दिन थानकोटबाट २ बजेपछि बस छुट्छ।

त्रिशूलीरभोटेकोसी र्याफ्टिङ
नयाँ वर्षका अवसरमा र्याफ्टिङमा रमाउनेहरूका लागि भोटेकोसी र त्रिशूली नदीमा र्याफ्टिङसहितको प्याकेज सार्वजनिक भएको छ, जसअन्तर्गत त्रिशूलीसम्म पुगेर र्याफ्टिङ गरी काठमाडौं फर्कन एक जनाले १ हजार ८ सय रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । यो प्याकेजअन्तर्गत भोटेकोसीमा र्याफ्टिङ गर्ने हो भने २ हजार २ सय रुपैयाँ खर्च हुन्छ । पहिलो प्याकेजमा काठमाडौंदेखि त्रिशूलीसम्मको यातायात तथा दोस्रो प्याकेजमा भोटेकोसीसम्मको यातायात एवं एक दिनको खानाको व्यवस्था छ ।

इलाम
इलाम नयाँ वर्ष मनाउन सकिने एउटा प्रमुख गन्तव्य हो । नागबेली डाँडामा चियाका बोटसँग लुकामारी खेल्दै यहाँको सौन्दर्यको मज्जा लुट्नुको आनन्द नै बेग्लै हुन्छ । सार्वजनिक यातायातमार्फत सजिलैसँग इलाम पुग्न सकिन्छ । इलामका सबै साना–ठूला पर्यटकीय गन्तव्यमा स्तरीय होटलहरूको व्यवस्था छ । दिनभर घुमेर अर्को दिन मात्र फर्कन चाहनेहरूले यहाँ प्रतिव्यक्ति ४ हजार रुपैयाँ खर्च गरे पुग्छ ।

भेडेटार
तराईको गर्मी छल्दै नयाँ वर्ष मनाउने उपयुक्त डेस्टिनेसन हो— भेडेटार । छिनमै बादल र छिनमै घाम लाग्नु यहाँको विशेषता हो । भेडेटारको भ्यू–टावरबाट हिमश्रृङ्खला, उच्च पहाडी श्रृङ्खला एवं तराईका समथर फाँटको दृश्यावलोकन गर्न सकिन्छ । भेडेटारनजिकैको नमस्ते झरना, तमोर नदी तथा मगर समुदायको हुर्रा नाचले नयाँ वर्षलाई थप विशेष बनाउन सक्छ । धार्मिक पर्यटनमा रुचि भएकाहरूले भेडेटारसँगै धरानका बूढासुब्बा, दन्तकाली, पिण्डेश्वर, बराहक्षेत्र आदि धार्मिक स्थलको भ्रमण गर्न सक्छन् । एकदिन भेडेटारमै बिताउने हो भने एकदिन एक रातका लागि प्रतिव्यक्ति ३ हजार ५ सय देखी ६ हजार रुपैयाँसम्म खर्च हुनसक्छ ।

लुम्बिनी
गौतम बुद्धको जन्मभूमि लुम्बिनी आन्तरिक पर्यटकका लागि रोजाइको गन्तव्य हो । बुटवल–भैरहवा हुँदै लुम्बिनी पुग्न दुई घण्टा लाग्छ । गौतम बुद्धको जन्मस्थलका साथै विभिन्न शैलीमा निर्माण भएका चैत्य तथा गुम्बाहरू यहाँका विशेषता हुन् । लुम्बिनी नेपालको छुटाउनै नहुने पर्यटकीय गन्तव्य हो । लुम्बिनीमा एक दिनको बसाइ र खानपानका लागि प्रतिव्यक्ति २ हजारदेखि ६ हजार रुपैयाँसम्म खर्च हुनसक्छ ।

घोडाघोडी ताल
सुदूरपश्चिमको कैलालीस्थित यो ताल विशेष गरी यस क्षेत्रका थारु समुदायसँग जोडिएको छ । यो ताल हेर्न बर्सेनि हजारांै आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् । पूर्व–पश्चिम राजमार्ग नजिकैको यो ताल क्षेत्र चराचुरुङ्गीका लागि पनि प्रसिद्ध छ । यो ताल विशेष गरी सुदूरपश्चिम क्षेत्रका आन्तरिक पर्यटकका लागि नयाँ वर्ष मनाउने विशेष गन्तव्य हो ।

खप्तड

खप्तड राष्ट्रिय निकुन्ज बझाङ्ग, बाजुरा, डोटी तथा अछाम जिल्लाको केन्द्र हो । नयाँ वर्षका अवसरमा पदयात्रा गर्न चाहनेहरूका लागि खप्तड उपयुक्त गन्तव्य हुनसक्छ । खप्तड बाबाको कुटी, त्रिवेणी नदी, शिव दह, केदारढुङ्गा जस्ता धार्मिक स्थलका साथै २२ वटा हिमाली फाँट पाटन यहाँका प्रमुख आकर्षण हुन् । त्यसका साथै यो क्षेत्रमा नाचिने हुड्के नाचले पनि जो कसैलाई आकर्षित गर्छ । खप्तडनजिकको प्रमुख बस्ती डोटीको शिलगढी हो । शिलगढीबाट अघि बढेपछि बास उपलब्ध गराउने स्तरीय होटलको व्यवस्था नभएको हुँदा आफैंले पाल, स्लिपिङ्गब्याग, खाना तथा पकाउने सामग्री बोकेर जानुपर्छ ।


पोखरा
फुर्सदमा घुम्न निस्कनेहरुको सुचीमा पोखरा अग्रपंक्तीमा आउँछ । झनै चाडबाडको फुर्सदमा परिवार तथा साथीहरुसँग घुम्नका लागि धेरैको रोजाइ पोखरा नै हुन्छ । हुन पनि प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा पुगेपछि दिनहरु वितेको पत्तै पाउन सकिदैन । एकपछि अर्को आकर्षक स्थलहरु घुम्दा घुम्दै दिन वित्छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदा, मौसमको अनुकूलता, आथित्य सत्कार यहाँको पहिचान हो ।

पोखराको नाइट लाइफ उस्तै आकर्षक हुन्छ । लाइभ म्युजिक, डिस्को डान्स, गजल– दोहोरीले पनि पर्यटकलाई भुलाउने गर्छ । तालहरुमा रमाउन मात्र नभइ साहसिक खेलकुद प्याराग्लाइडिङ, जिप फ्लायर, अल्ट्रालाइटले बसाइ लम्ब्याउन सकिन्छ । काठमाडौंबाट करिब चार देखि पाँचहजार जहाज भाडा तिरेर नत्र माइक्रो वा टुरिष्ट बसमा पाँचसय रुपैया तिरेर पोखरा उत्रिन सकिन्छ । बासका लागि लेकसाइट, बसपार्क आसपास सस्तो सुविधासम्पन्न होटलहरु छन । थकाली खाना यहाँको आकर्षण हो भने विहानीको समयमा विन्ध्यबासिनी, तालबाराहीको दर्शन उपयुक्त हुन्छ ।

सौराहा
नेपालमा घुमफिरका लागि धेरै रमणिय स्थानहरु मध्ये सौराहाको नाम अग्रंपक्तीमै जोडिएर आउँछ चितवनका अन्य पर्यटकीय स्थलहरुमध्ये सबै झुम्मिने भनेको सौराहामा नै हो । फुर्सदको समय र उपयुक्त मौसम मिलाएर पारिवारिक वा हनिमुन ट्रिपका लागि धेरैको रोजाइ सौराहा नै हुने गर्छ । सौराहा ‘वाइल्डलाइफ टुरिजम’का लागि प्रशिद्ध छ । हुन पनि सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका जनावर, पंक्षीहरुमा अडिएको छ । हात्ती चढेर जंगल सफारी गर्नु, वन्यजन्तुहरु हेर्नु, राप्ती नदिमा डुङ्गा सयर गर्नु, सूर्यास्त हेर्नु, थारु कल्चरको अवलोकन गर्नु सौराहाका आकर्षणहरु हुन् ।

यहाँ हात्ती सफारी सबैभन्दा धेरैको रोजाइमा पर्ने गर्छ । सफारी गर्न आठसय देखि १५ सय रुपैयाँ तिर्नुपर्छ । सौराहामा डुङ्गा सफारी अर्को आकर्षक पक्ष हो । राप्ती नदिमा डुङ्गा सयर गर्दा गोही, गैंडा, चराचुरुङ्गी हेर्न तथा अवलोकन गर्न पाइन्छ । साथै, सूर्यास्त पनि सौराहाबाट देख्न सकिन्छ । थारु संस्कृती, परम्परा, रहनसहन बारेमा पनि सौराहा पुगेपछि जान्न बुझ्न पाइन्छ । काठमाडौंबाट हवाइ वा बसको यात्रा गरेर सौराहा पुग्न सकिन्छ । दुईरातका लागि प्रति व्यक्ति १२ हजार रुपैंया बोकेमा सौराहा मजाले घुम्न सकिन्छ ।

लोमान्थाङ
मुस्ताङको लोमान्थाङमा विशेष गरी विदेशीहरु घुम्न पुग्ने गर्छन । तर नेपालीहरु पनि मुक्तिनाथको दर्शन पनि गर्न पाईने र शाहसिक पदयात्रा पनि हुने भएकाले यो क्षेत्र रोजाइमा पर्छ । मुस्ताड तल्लो र माथिल्लो मुस्ताङ गरी दुई तहमा विभाजित छ । माथिल्लो मुस्ताङमा सडकको पहुच पुगेपछि अहिले आन्तरीक तथा बाह्य पर्यटकको आगमनमा बृद्धि भएको छ ।

यहाँ जानलाई पोखरादेखि जोमसोमसम्म हवाईजहाजमार्फत यात्रा गर्न सकिन्छ । त्यसपछि पैदल यात्रा गरेर तीन दिनमा लोमाङथाङ पुग्न सकिन्छ । जोमसोमदेखि जिपमा जाने हो भने एकै दिनमा पुग्न सकिन्छ । खान र बासका लागि केही मंहगो भए पनि सुविधासम्पन्न होटलहरु भेट्न सकिन्छ ।

जामुनखाडी
झापाको जामुनखाडी सीमसार क्षेत्र पर्यटकीय नमुनाका रूपमा चर्चित छ । सुरुङ्गामा पर्ने यो स्थान सबैको रोजाइमा पर्न थालेको छ । जामुनखाडी सीमसार क्षेत्र पूर्व–पश्चिम राजमार्गको सुरुङ्गाबाट करिब एक किलोमिटर उत्तर हिँडेर वा गाडीमार्फत पुग्न सकिन्छ । चुरे क्षेत्रको घना जंगलका रूपमा रहेको यो भूभाग उत्कृष्ट गन्तव्य हो । यहाँ विश्वबाट लोप हुँदै गएको अजिङ्गर पनि संरक्षित गरिएको छ । त्यहाँको सानो चिडियाखानामा अन्य वन्यजस्तुहरू पनि संरक्षित छन ।

जामुनखाडीको पोखरीमा नौका विहार गरेर रमाउन सकिन्छ । त्यहाँ मृगस्थली, बालउद्यान, रंगीन माछाको पोखरी, झोलुङ्गे पुल आदिमा रमाउन सकिन्छ । यहाँ प्रवेश गर्न २० रुपैयाँ शुल्क तिर्नुपछ । नजिकैको बिर्तामोड तथा दमकमा सुविधासम्पन्न होटल तथा लज उपलब्ध छन । काठमाडौंबाट ५ सय ५० किलोमिटरको बस यात्राबाट जामुनखाडी पुग्न सकिन्छ । हवाईजहाजबाट आउनेहरू विराटनगर वा भद्रपुर विमानस्थलमा उत्रिएर ट्याक्सी वा स्थानीय यातायातमार्फत जामुनखाडी पुग्न सकिन्छ ।

जिरी
दोलखा जिल्लाको प्रमुख र आकर्षक गन्तव्य हो जिरी । जिरीलाई स्वीटजरल्याण्डको ज्युरिच सहरसँग तुलना गर्ने गरिन्छ । तामाकोशी नदी, मनमोहक हरियाली र झरना तथा परम्परागत बस्तीले जिरीलाई रमणीय बनाएका छन् । जिरी सगरमाथा प्रवेशद्वारका रुपमा पनि परिचित छ । यहाँबाट सगरमाथाका लागि पदयात्रा सुरु हुन्छ । काठमाडौंबाट करिब आठ घण्टाको बस यात्रापछि जिरी पुग्न सकिन्छ । स्वीटजरल्याण्ड सरकारको सहयोगमा विकास भएको जिरी निकै आकर्षक शहर हो । जिरीमा बस्नका लागि सुविधासम्पन्न होटलहरु छन् । सामान्यतया तीन दिनको अवधि जिरी घुम्नका लागि पर्याप्त हुन्छ । काठमाडौंको पुरानो बसपार्कबाट जिरीको बस चढेर पुग्न सकिन्छ ।

नगरकोट
काठमाडौंको व्यस्त दैनिकीलाई बिश्राम लिनलाई नगरकोट पुग्दा हुन्छ । सेताम्मे हिमाल हेर्न तथा एक रात बसोबास गर्नका लागि राजधानी सबैभन्दा उपयुक्त स्थल हो नगरकोट काठमाडौंबाट १ घण्टा ३० मिनेटको सवारी यात्रामा पुग्न सकिने भएकाले पनि यो स्थान उपयुक्त हो । लाङटाङ हिमालको मनोरम दृश्यका साथै विश्वका उत्कृष्ट दश स्थान मध्ये सूर्य उदाएको हेर्न नगरकोट धेरैको रोजाइमा पर्छ । एक दिनका बास बसाई लागि यस स्थानलाई रोज्न सकिन्छ । होटलहरु अलिक मंहगा छन । काठमाडौंको माछापोखरीबाट सोझै बस चढेर नगरकोट पुग्न सकिन्छ ।

सिरुबारी
स्याङ्जाको पञ्चमुल गाविस– ४ मा पर्ने सिरुबारी ’होमस्टे’ का रुपमा प्रख्यात छ । गुरुङ जातीहरुको संस्कृती भएको गाउँले परिवेशको सिरुबारीमा आन्तरिक पर्यटकहरुबो भिड लागिरहन्छ । यहाँ पुग्ने पर्यटकहरुलाई बुढापाकाले छोरा–नाती जस्तै माया र सत्कार गर्छन । पाहुना सत्कार गर्ने राम्रो शैली छ यहाँ । हिँडेर आउनेलाई गाउँको मुखैमा र बसमा आउनेलाई बसपार्कमा उनीहरू स्वागत गर्छन । गुरुङ पहिरनमा सजिएका महिला र पुरुषले फूलमाला लगाइदिन्छन भने दलित समुदायले पञ्चै बाजा बजाउँछन । पाहुनालाई सुरुमा गाउँको गुम्बा पुर्‍याउँछन । त्यसपछि खान खुवाउने र नाचगानमा रमाउन पाइन्छ । एक रात बसेको हजार देखि १५ सय खर्च लाग्छ । यहाँ घुम्ने भनेको गाउँमात्र हो । यहाँ पुग्नलाई पोखराबाट सोझै गाडी पाइन्छ । ६४ किलोटिर बाटो पार गर्न गाडीमा पाँच घन्टा लाग्छ । यतिबेलाको मौसम सिरुबारी घुम्न लायक छ ।

दामन
हिउँद महिनामा हिउँ खेल्ने गन्तब्यका रुपमा परिचित दामन नयाँ बर्षको राम्रो गन्तब्य हो । काठमाडौंबाट करिब ८० किलोमिटर टाढा रहेको दामन मकवानपुर जिल्लामा पर्छ । थानकोट-नौबिसे हुँदै पृथ्वी राजपथमार्फत सजिलै पुग्न सकिने दामनमा र्बाहैकाल चिसो हावा आइरहन्छ ।
प्राकृतिक सुन्दरता हेर्दै चिसो हावामा रमाउन खुबै मजा आउँछ । दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर लगायत हिमाल हेर्न सकिन्छ । दुई हजार ६ सय ८८ मिटर उँचाइ रहेको दामनबाट हिमशृंखला र वरपरका पर्वत अवलोकन गर्न भ्यूटावर पनि छ । यहाँ पुगेपछि ढिडो, लोकल कुखुराको मासुको परिकारको मजाले स्वाद लिन सकिन्छ । यहाँ बस्नका लागि सामान्य होटलदेखि सुविधासम्पन्न रिसोर्टहरु पनि संचालित छन् ।

भोटेचौर
काठमाडौंबाट नजिकै भएकाले ‘मिनीइलाम’ अर्थात भोटेचौरको चियाबगान धेरैको रोजाइमा पर्छ । प्राकृतिक सौन्दरयतामा रमाउन मात्र होइन फोटो खिचेर आनन्द लिन भोटेचौरमा मानिसहरु झुम्मिने गर्छन । चावहिलबाट ३८ किलोमिटर टाढा रहेको सिन्धुपाल्चोकको भोटेचौरमा सुविधायुक्त होटलहरु खुलेका छन् । साँखुबाट दुई घण्टाको बसयात्रा गरे भोटेचौर पुगिन्छ । साँखुबाटै हाइकिङ गर्दै गए झनै मजा आउँछ । हाइकिङमा पाँच घण्टाको बाटो हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस