२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

पार्किङस्थल नहुँदा बुटवलको मुख्य बजार क्षेत्र अस्तव्यस्त

२०७५ पौष ८, आईतबार प्रकाशित ( साल अघि) १०२६ पाठक संख्या

बीपी गौतम

रूपन्देही । बुटवलमा सवारीसाधन पार्किङको समस्याले मुख्य बजार क्षेत्र अस्तव्यस्त भएको छ । प्रदेशको राजधानी भएसँग यहाँ सवारीसाधनको चाप ह्वात्तै बढेसँगै पार्किङको समस्या देखिएको हो ।

व्यवस्थित पार्किङस्थल नहुँदा अधिकांश सवारीसाधन सडकमै पार्किङ गरिँदा ट्राफिक जाम बढेको छ । केही व्यावसायिक भवनहरू बाहेक यहाँ अन्यको अन्डर ग्राउण्ड पार्किङ छैन । मूलतः अमरपथ, राममन्दिर लाइन, ट्राफिकचोक, बीपीचोक, मिलनचोक, तीनकुनेलगायत मुख्य बजारमा साना सवारीसाधनदेखि मोटरसाइकसम्म सडकमै पार्किङ हुँदा पैदलयात्रुलाई समेत हिँडडुल गर्न समस्या छ ।

ई–रिक्साले समेत भित्री बजारका सडकहरू अस्तव्यस्त बनाएका छन् । ई–रिक्साको व्यवस्थापनमा बुटवल उप–महानगरपालिका उदासीन छ । पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रहरी उपरीक्षक गणेश चन्द सवारीसाधनको बढ्दो चापले बुटवलमा ट्राफिक समस्या थामिनसक्नु रूपमा देखिएको बताउँछन् । ‘गाडी थपिएका थपियै छन्, तर सडक थपिएको छैन’ एसपी चन्द भन्छन्, ‘बुटवलमा ट्राफिक समस्या हटाउन पार्किङ स्थलको आवश्यकता छ । स्थानीय तहले पार्किङ समस्या हटाउन बहुतले पार्किङस्थल बनाउने योजना अगाडि सार्नुको विकल्प छैन ।’

बुटवलमा पार्किङका लागि खाली जग्गा छैन । यहाँ दैनिक झण्डै सानाठूला ७० हजारभन्दा बढी सवारीसाधन गुड्ने ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ । बुटवल उप–महानगरपालिका उप–प्रमुख गुमादेवी आचार्यले अस्थायी पार्किङका लागि जग्गाको खोजी भइरहेको बताइन् । ‘हामीले बुटवल–१२ नयाँगाउँमा टान्सपोर्ट भिलेज बनाउँदै छौं,’ उनले भनिन्, ‘अहिले नयाँ बसपार्कलाई पनि अत्याधुनिक बसपार्क बनाउने गरी डीपीआर तयार गर्दै छौं । उक्त बसपार्कमा बहुतले पार्किङ स्थल पनि बनाइने छ । तत्कालका लागि अस्थायी रूपमा अञ्चल अस्पतालको खाली जग्गा प्रयोग गर्नेबारे छलफल भइरहेको छ ।’

प्रदेश मन्त्रालयदेखि संसद् भवनक्षेत्रमा समेत पार्किङ नहुँदा मन्त्रीदेखि सांसदहरूका गाडीहरू समेत सडकमै पार्किङ हुन्छन् । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले पार्किङको दीर्घकालीन रूपमा समाधान गर्नेगरी प्रदेश सरकारले काम थाल्ने तयारी गरेको जानकारी दिए । ‘बुटवलमा पार्किङ समस्या जटिल बन्दै छ । यसको दीर्घकालीन समाधान लागि प्रदेश सरकार छिटै नयाँ ठाउँको खोजी गरेर अघि बढ्छ,’ उनले भने ।

ट्राफिक व्यवस्थापनका लागि प्रदेश पाँचमा जनशक्ति पनि कम छ । यहाँ जम्मा चार सय चारजना ट्राफिक प्रहरी कार्यरत छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस