कावासोती । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोटमा रहेको डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार गैंडाकोट र भेडाबारीबीचमा रहेको डाइभर्सन बगेको हो ।
राजमार्ग फराकिलो पार्ने क्रममा बनाइएको डाइभर्सन बगेपछि बिहीबार बिहान ९ बजेबाट गाडी वारपार गर्न सकेका छैनन् ।
सयौं गाडी गैंडाकोट र रजहरमा रोकिएका छन् । सडक भत्किएकै स्थानमा जाम नहोस् भनेर दुवैतर्फका गाडी त्यहीँ रोकिएको प्रहरीले जनाएको छ ।
गैंडाकोट र भेडाबारीबीचको जंगलमा पुराना पुल भत्काएर फराकिलो बनाउने क्रममा चारवटा डाइभर्सन बनाइएका छन् ।