चितवन । चितवनमा कारले दुईवटा स्कुटरलाई ठक्कर दिँदा पांँच बर्षीय बालकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय , चितवनका अनुसार राप्ती नगरपालिका ३ झुरझुरेस्थित स्थित पुर्व पश्चिम राजमार्गमा बा१९च ७९८६ नम्बरको कारले ठक्कर दिंँदा प्रदेश ३–००२प ६४८३ नम्बरको स्कुटरलाई ठक्कर दिंँदा स्कुटर चालक खैरहनी नगरपालिका वडा नम्बर १२का राजकुमार अधिकारीका ५ वर्षीय छोरा आरुष अधिकारीको मृत्यु भएको हो भने बुबा राजकुमार मध्यम घाइते भएका छन ।
यस्तै उक्त कारले अर्को प्रदेश ३ ००३प ६८८८ नम्बरको स्कुटरलाई ठक्कर दिंँदा चालक रत्ननगर १५ का निशान भट्टराई र स्कुटरको पछाडी सवार सोही स्थानका सन्तोष पोखरेल घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका आरुषको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ३ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरेलको अवस्था मध्यम तथा भट्टराईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । पुर्व पश्चिम राजमार्गमा भण्डाराबाट हेटौंडा तर्फ जाँदै गरेको कारले विपरीत दिशाबाट आउँदै गरेको दुई वटा स्कुटरलाई ठक्कर दिएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना ३ बजेर १० मिनेटमा भएको हो ।