कावासोती । नवलपुरको देवचुलीमा ५ महिने बालिकाको हत्या भएको छ । मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परि ५ महिने बालिकाको ज्यान गएको हो ।
नवलपुर प्रहरीका अनुसार देवचुली नगरपालिका ६ मितुङ बस्ने २६ बर्षीय कर्णबहादुर सारुले मादकपदार्थ सेवन गरी आफ्नै मामा सोही स्थानका पदमबहादुर बाह्रघरेसँग झगडा गरेका थिए ।
सोही क्रममा कर्णबहादुर सारुले मामाकी ५ महिने छोरी धनमाया बाह्रघरेलाई उचाली पिँढीमा फाल्दा बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।
पिढीँमा बजारिएर गम्भीर घाईते बालिकाको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी डिएसपी दिलिप कुमार गिरीले बताए ।
डीएसपी गिरीले कर्ण बहादुर सारुलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडी बढाईएको जानकारी दिए ।